पीएनजीमाथि नेपालको सहज जित
काठमाडाैं | फागुन २९, २०७९
काठमाडौं: आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई नौ विकेटले हरायो ।
जितका लागि ९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा एक विकेटको क्षतिमा एक सय रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि ओपनर आशिफ शेखले अविजित ५३ रन बनाउनुभयो । कुशल भुर्तेलले ३३ र कुशल मल्लले अविजित १२ रन बनाउनुभयो । बलिङमा पीएनजीका चाद सोपरले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले ३२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन मात्र बनाएको थियो । पीएनजीका लागि कप्तान असाद भालाले २० रन बनाउनुभयो । सेसे बाउले १८, चाल्स अमिनीले १६, हिरि हिरिले १४ र चाद सोपरले अविजित आठ रन बनाउनुभयो ।
पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिनुभयो । सन्दीपले १० ओभर बलिङ गर्दै २५ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । उहाँ प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै ललित राजवंशी र कुशल मल्लले दुई दुई तथा सोमपाल कामीले एक विकेट झार्नुभयो ।
यस सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रन र दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराएको थियो । जितसँगै चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अङ्क बनाएको छ ।
समान खेलबाट ११ अङ्क बनाएको पीएनजी तालिकाको अन्तिममा छ । लगातार जितसँगै नेपाल विश्वकप छनोट खेलबाट अब एक खेलमात्र टाढा रहेको छ ।
नेपालले अब लिगकै अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएमा आगमी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।
यसअघि आइतबार युएईलाई हराएर लिगको चौथो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाएको नेपाललाई लिगको तेस्रो स्थानमा रहन अब पुनः युएईलाई हराउनु पर्ने बाध्यता छ । नेपालले सिरिजको अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । ३४ खेलबाट ३१ अङ्क बनाएको युएई छैटौँ स्थानमा छ ।
सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । नेपालको लगातार जितले नामिबियालाई थप झस्काएको छ ।
३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा झरेको छ ।आइतबार नेपालले युएईलाई हराएपछि अमेरिका पाँचौँ स्थानमा झरेको हो । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

